अख्तियारद्वारा ३१ जनाविरुद्ध ३० करोड बराबरको मुद्दा दायर

तु खबर संवाददाता
२०७९ भाद्र १०, शुक्रबार ०९:१२
file-photo

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ जनाविरुद्ध ३० करोड रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसहित ३१ जनाविरुद्ध ३० करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै बिहीबार २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरेको हो । धनुषाको पिडारी चोकस्थित र रत्नसागर मन्दिरको नामको जग्गासमेत व्यक्तिको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने उजुरी परेपछि आवश्यक छानबिन गरेर मुद्दा चलाइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।