भ्रष्टाचारको आरोपमा आठबीसकोटका मेयरसहित ११ जनाविरुद्ध मुद्दा

तु खबर संवाददाता
२०८३ श्रावण २१, बिहीबार २१:२१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारीका नाममा प्राप्त सरकारी अनुदान दुरुपयोग गरी करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा आयोगले बिहीबार काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

आयोगका अनुसार आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटालाले डेरी सञ्चालन गर्ने भन्दै नगरपालिका र प्रदेश सरकारबाट लाखौँ रुपैयाँ अनुदान लिए पनि दुई वर्षसम्म डेरी सञ्चालन नगरेका थिए। अनुसन्धानका क्रममा सरकारी बजेटबाट खरिद गरिएका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको समेत खुलेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

अनुसन्धानबाट चिस्यान केन्द्र निर्माणका लागि उपलब्ध गराइएको ९१ लाख १७ हजार ८७३ रुपैयाँ तथा दूध ढुवानीका लागि दूध ट्याङ्कर र सवारीसाधन खरिद गर्न दिइएको ८० लाख २३ हजार ५१ रुपैयाँ गरी कुल एक करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ बराबरको अनुदान दुरुपयोग भएको देखिएको आयोगले जनाएको छ। नगर प्रमुख केसीविरुद्ध भने ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो कायम गर्दै सोही बराबरको सजाय माग गरिएको छ।

मुद्दामा आठबीसकोट नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत ज्ञानकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन, कृषि विकास कार्यालयका कृषि अधिकृत मीनबहादुर केसी तथा आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाया, सचिव गोविन्दप्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेललाई पनि प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार सहकारीले अनुदान प्राप्त गर्न आवश्यक मापदण्ड र योग्यता पूरा नगरे पनि कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा प्रक्रियाविपरीत अनुदान उपलब्ध गराइएको थियो। चिस्यान केन्द्र स्थापना भएको दुई वर्षसम्म पनि सञ्चालनमा नआएको थाहा हुँदाहुँदै थप अनुदान उपलब्ध गराएर सरकारी रकम दुरुपयोग गरिएको आयोगको निष्कर्ष छ।