बयान फेरेपछि सरकारी साक्षीविरुद्ध अख्तियारको मुद्दा, ५० लाख बिगो दाबी

तु खबर संवाददाता
२०८३ जेष्ठ १९, मंगलवार १७:४८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दाका सरकारी साक्षी ईश्वरी प्रसाद गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गौतमले अदालतमा अनुसन्धानका क्रममा दिएको बयानविपरीत बकपत्र गरेको निष्कर्ष निकाल्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८१-सीआर-०११८ मा नेपाल सरकार वादी र चन्द्रबहादुर अधिकारीसहितका प्रतिवादी रहेको घुससम्बन्धी भ्रष्टाचार मुद्दामा गौतम सरकारी साक्षीका रूपमा प्रस्तुत भएका थिए। उनले आयोगको अनुसन्धानका क्रममा अनुसन्धान अधिकृतसमक्ष बयान दिँदै घटनाबारे सहयोग गरेका थिए।

उक्त मुद्दामा प्रतिवादी चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइदिने भन्दै ५० लाख रुपैयाँ घुस माग गरी लिएको आरोप छ। सो घुस लेनदेनमा गौतमको पनि संलग्नता देखिए पनि अनुसन्धानमा सहयोग गरेका कारण उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाएर सरकारी साक्षीका रूपमा अदालतमा पेस गरिएको थियो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–७ निवासी गौतमले २०८३ वैशाख २३ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा आयोगसमक्ष दिएको बयान तथा आरोप मागदाबीको प्रतिकूल हुने गरी बयान फेरेको आयोगको दाबी छ।

आयोगले सरकारी साक्षीले अदालतमा बयान फेरेपछि थप अनुसन्धान गरेको थियो। थप अनुसन्धानबाट गौतम घुस लेनदेनको कार्यमा संलग्न रहेको पुष्टि भएको निष्कर्ष निकालिएको आयोगले जनाएको छ।

आयोगका अनुसार गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ। साथै सोही ऐनको व्यवस्था अनुसार कैद सजाय तथा बिगो बराबरको जरिवानासमेत मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।