अख्तियार प्रमुख राई र एपिजी प्रतिनिधिमण्डलबीच भेटवार्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी एसिया प्यासिफिक ग्रुप अन मनि लाउण्डरिङ (एपिजी) का प्रतिनिधिहरूबीच विशेष भेटघाट भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा भएको भेटमा एपिजीको तर्फबाट डेलिगेसन प्रमुख डेविड सानन र पारस्परिक मूल्याङ्कन संयोजक किया सासलीको सहभागिता रहेको थियो ।
छलफलका क्रममा एपिजीका डेलिगेसन प्रमुख डेविड साननले नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’ बाट बाहिरिनका लागि आगामी दिनमा चाल्नुपर्ने कदमहरूका बारेमा सुझाएका थिए। उनले इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुपले परिमार्जन गरिदिएको कार्ययोजनाको दृढताका साथ पालना हुनुपर्ने, राष्ट्रिय जोखिम मूल्याङ्कनको कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्ने र बढी जोखिमपूर्ण देखिएका क्षेत्रहरूमा सुधार केन्द्रित हुनुपर्नेमा जोड दिएको अख्तियारले जनाएको छ ।
त्यस्तै प्रमुख साननले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानको क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाह गरेको कार्यको प्रशंसा गर्दै उनले आगामी दिनमा आयोगको अनुसन्धान क्षमता थप सुदृढ तुल्याउन आवश्यक प्राविधिक सहायतासमेत उपलब्ध गराउन सकिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार, सो अवसरमा प्रमुख आयुक्त प्रेम कुमार राईले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने सवालमा एपिजीले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान र अभियोजनमा आयोगले सम्पादन गरेका विभिन्न नीतिगत तथा कानुनी सुधार, अनुसन्धान र अभियोजनको परिमाणात्मक र गुणात्मक अभिवृद्धि, अनुसन्धान क्षमता विकास र अन्तरनिकाय समन्वय लगायतका मुख्य सुधारका विषयमा स्पष्ट पारेका थिए ।
