एमाले केन्द्रीय कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७९ भाद्र १०, शुक्रबार ०८:३८
file-photo

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची छ ।

यस्तै, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्ताव रहेका छन् । यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसेको थियो ।