दल दर्ताको निवेदनमाथि छानविन गर्दै निर्वाचन आयोग

तु खबर संवाददाता
२०७९ भाद्र ४, शनिबार ०९:२४

काठमाडौं । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको जनाएको छ । आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् ।

ती दलहरुले दर्ताका लागि बुझाएको आवश्यक कागजातमाथि जाँचबुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । जाँचबुझका क्रममा दलहरुले बुझाउनुपर्ने कागजात नपुगेमा वा अस्पष्ट भएमा पुनः कागजात माग्ने उनले बताए ।

आयोगले आगामी भदौ ८ गते दर्ता भएका दलको अन्तिम विवरण प्रकाशन गर्ने तयारी गरेको छ । विवरण प्रकाशन गरेपछि उनीहरुले संघ, प्रदेश, प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुनका लागि निवेदन दिनुपर्ने उनले बताए । आयोगले साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो ।