आसन्न निर्वाचनमा ‘म्यादी प्रहरी’ को सट्टा ‘पूर्व सुरक्षाकर्मी’ परिचालन गर्न आयोगको सुझाव
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षामा म्यादी प्रहरीको सट्टा पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवा दललाई प्रयोग गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो बारेमा जानकारी गराएका हुन् ।
उनले खर्च कम गर्ने हिसावले र सुरक्षाका हिसावले पूर्व सुरक्षाकर्मीको प्रयोग व्यवहारिक हुने बताउँदै निर्वाचनमा आयोगको सोचाई पूर्व सुरक्षाकर्मी परिचालन गर्न पाए हुन्थ्यो भन्ने रहेको उल्लेख गरे । छलफलका क्रममा केही सम्पादकहरूले राखेको सो सम्बन्धी प्रस्तावमाथि आयोगले यसअघि नै छलफल गरी सरकारलाई सुझाव दिएको उल्लेख गरे ।
उनले पूर्व सुरक्षाकर्मी तथा जनसेवा दलको प्रयोग गर्दा नयाँ ड्रेस खरिद गर्ने रकम बचत हुने बताउँदै सुरक्षा कार्य पनि प्रभावकारी हुने बताए ।प्रमुख आयुक्त थपलियाले यसबारे आयोगले निर्णय गरेर सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी दिए । निर्वाचनमा पूर्व सुरक्षाकर्मी परिचालनमा नै आयोगको जोड हुने बताउँदै स्थानीय तहको निर्वाचनका बेला पनि सरकारलाई यही सुझाव दिएको बताए । यसबारे आयोगले फेरि सरकारसँग छलफल गर्ने उनको भनाई छ ।
