निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

तु खबर संवाददाता
२०७९ श्रावण २०,शुक्रबार १८:५५

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो ।

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।

यसरी दल दर्ताको लागि निवेदन दिंदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको पनि आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।