प्रदेश सरकारको आवश्यकता छैन : अध्यक्ष थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् । बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बलियो केन्द्रिय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै सो कुरा बताएका हुन् ।
उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताए । अहिलेको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले पनि अब समानुपातिक निर्वाचन प्रणालीमा जान उपयुक्त हुने तर्क अध्यक्ष थापाको थियो । अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरु बीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताए । उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दावी समेत गरे ।
