चार नेताले छाडे राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् । पार्टी छाड्नेहरुमा क्रमशः दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राज भण्डारी रहेका छन् ।
उनीहरूले आज एक विज्ञप्ति जारी गरी अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको बताए । जारी विज्ञप्तिमा उनीहरूले आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको उल्लेख गरिएको छ । उनीहरूले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन्।
गत बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिलनाथसहित नेताहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । पार्टी हितविपरीत गतिविधि गरेको आरोप राप्रपाको थियो। दिलनाथसहितले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।
