मकवानपुरको महक – ६ : देवराज खरेल र उनको ‘जिन्दगीदेखि जिन्दगीसम्म’ निबन्ध सङ्ग्रह

सञ्जय साह मित्र
२०७९ असार १७,शुक्रबार १५:४१

मकवानपुर । देवराज खरेल वर्तमान मकवानपुरे साहित्यका एक यस्ता व्यक्तित्व हुन् जो आफैँमा एक संस्था हुन् । मैले देख्दादेख्दै मातृभूमि साहित्य समाजको स्थापना र मातृभूमि पत्रिकाको प्रकाशन गरेका हुन् । ज्ञातव्य छ मकवानुरे साहित्यमा मातृभूमिद्वयले विशिष्ट योगदान दिएका छन् । प्रतिभा उत्पादन, प्रतिभालाई प्रोत्साहन, पुरस्कार प्रदान तथा सभ्य र भव्य कार्यक्रममार्फत मातृभूमिले साहित्येतिहासमा एक नवीन गोरेटो निर्माण गरिसकेको छ । समय साक्षी छ – मातृभूमिका पर्याय हुन् खरेल ।

साहित्यको विविध क्षेत्रमा काम गर्दै खरेलले आफ्नो साहित्यिक यात्रामा चार कृतिलाई जन्म दिएका छन् । पहिलो कृति आत्मध्वनि (कविता सङ्ग्रह, २०६५), दोस्रो कृति स्मृतिका टिपोट (निबन्ध सङ्ग्रह, २०६८), तेस्रो कृति (प्रेमका पाइलाहरू, २०७०) र चौथो कृति जिन्दगीदेखि जिन्दगीसम्म (निबन्ध सङ्ग्रह, २०७८) हुन् । प्रकाशित कृतिहरूको विधागत पहिचानलाई हेर्दा ‘जिन्दगीदेखि जिन्दगीसम्म’ दोस्रो निबन्ध सङ्ग्रह हो र यसबाट निबन्धकारको रूपमा सर्जक खरेलले आफूलाई चिनाउन खोजेको सङ्केत पाउन सकिन्छ ।

निबन्धकार खरेलका अन्य कृतिहरूको अध्ययन गर्न पाएको छुइन । उनको मेरो हात परेको छ । यस निबन्धलाई पढिसकेपछि यस्तो भन्न सकिन्छ – देवराज खरेलले मुटुबाट पसिना बगाई यस सङ्ग्रहमा आफूलाई पोख्ने काम गरेका छन् ।

हृदयस्पर्शी भावले पाठकलाई सम्वेदित बनाउने क्षमता रिजालमा रहेको छ । रिजालले निबन्धमा आफूलाई पूर्णतया पोख्न सक्छन्, आफ्नै भावमा बग्न सक्छन् र भावनाको भेलमा पाठकलाई पनि बगाउन सक्छन् । सरल भाषाशैलीमा गम्भीर तर्क र सम्पुष्ट तथ्य दिन सक्ने सामथ्र्य भएका निबन्धकारको रूपमा खरेललाई ‘जिन्दगीदेखि जिन्दगीसम्म’ ले प्रमाणित गर्दछ ।

सङ्ग्रहको पहिलो रचना हो – चेतनाको खेती । मान्छेलाई चेतनाको बिम्ब देख्ने निबन्धकार खरेल मनलाई चेतनाको राजधानी बताउँछन् । चेतनाले नै मानिसलाई मानिस बनाएको र चेतनाले गर्दा नै मानिसले अन्य जीवभन्दा आफूलाई पृथक साबित गर्न सकेको स्पष्ट पार्दछन् । चेतनाकै कारण मानिसले विज्ञान जन्माएको र निरन्तर अनेक चमत्कार गर्दै गएको बताएका निबन्धकारले चेतनाको खेतीलाई सर्वोत्तम खेती मानेका छन् ।

म – यस सङ्ग्रहको दोस्रो रचना हो । म अर्थात् अहम । यही अहमले घमण्डको रूप धारण गर्दा महाभारतसम्म भएको छ । म यदि स्वार्थी बन्न पुग्दछ भने जताततै नोक्सानी बेहोर्नु पर्ने र कहिलेकाहीँ एक म स्वार्थी हुँदा धेरैले नोक्सानी बेहोर्नुपर्ने हुन्छ । विभिन्न युद्ध, महायुद्धमा म कारक भएको देखाउँदै निबन्धकार आफू र अरु सबै तथा वातावरणसमेतलाइू सुन्दर बनाउन म तल्लीन हुनुपर्ने दृष्टिकोण अगाडि सार्दछन् ।

एकपटक खूब चलेको थियो – नयाँ नेपाल । निबन्धकार खरेलले पनि नयाँ नेपालको परिकल्पना गरेका छन् । सुन्दर, सुसंस्कृत, सभ्य, विकसित, आत्मनिर्भर र असल नेपालको चाहना सबैको हो । यस्तै नयाँ नेपालको परिकल्पना गरिएको र निबन्धकारको विचारलाई प्रस्तुत गरिएको निबन्ध हो – नयाँ नेपालको परिकल्पना ।

सर्जकहरूको सम्मान गरिएको निबन्ध हो – समय, स्रष्टा र सिर्जना । मुख्य गरी मकवानपुरलाई माया गर्ने साहित्यकारहरूलाई यस निबन्धमा सम्झना र सम्मान गरिएको छ । मकवानपुरे साहित्यको सेरोफेरोमा आउने साहित्यिक नामहरूलाई यसले सम्मान गरेको छ । यस रचनाले साहित्यकार खरेलको साहित्यकारहरूप्रतिको आत्मीयतालाई प्रदर्शन गरेको छ ।

आँसुको मूल्य – भावनाप्रधान निबन्ध हो । निबन्ध सतहमा बगेको छ र भावलाई गहिराइमा लुकाएको छ । साँच्चिकै आँसुको मूल्य बुझ्न चाहनेले एकचोटि यो निबन्ध पढ्नैपर्ने देखिन्छ । हृदयलाई झक्झक्याउने गरी लेखिएको निबन्ध हो – अर्को जुनीमा । निबन्धकार खरेलको नैबन्धिक सिर्जनाको उत्कर्ष हो यो निबन्ध । यस निबन्धमा खरेलले आफूलाई पोखेका छन् । धेरै कुरा खुलाएका छन् र धेरै कुरा नभनेरै भनेका छन् । वैयक्तिभाव र राष्ट्रभावको सुन्दर संयोजन भएको यो याथार्थिक सिर्जना हो । यद्यपि केही खल्लोपन नलाग्ने होइन, तर पनि यस निबन्धका लागि लेखकलाई मेरो सलाम अर्पण गर्दछु म ।

राष्ट्रियताको भावले ओतप्रोत अर्को निबन्ध हो – नमस्ते नेपाल । नेपाल बनाउन र नेपाल बचाउन आफ्नो समय, मानसिकता, रगत र पसिना बगाउने सबैलाई सम्मान गर्दै जहाँ पनि र जहिले पनि नेपाललाई सलाम गर्न पाइयोस् भन्ने इच्छा यसमा प्रकटिएको छ । देशलाई कतैबाट दुख्न दिन नचाहने कल्पना यस निबन्धमा गरिएको छ ।

बालकदेखि वृद्धसम्म, ग्रामीणदेखि सहरीसम्म र पढेकादेखि नपढेकासम्म सबैको मनमा उठ्ने प्रश्न हो – सबैभन्दा ठूलो के ? यसै शीर्षकमा लेखिएको निबन्धमा आफ्नो रुचि, उमेर, पेसा तथा अवस्थाको आधारमा सबैले दिन सक्ने जवाफलाई विषयवस्तु बनाइएको छ । तर निबन्धकारले सबैभन्दा ठूलो देशको झन्डालाई मानेका छन् । यसमा पनि राष्ट्रियतालाई निबन्धकारले महत्व दिएका छन् ।

निबन्ध सङ्ग्रहकै शीर्षक रहेको निबन्ध हो – जिन्दगीदेखि जिन्दगीसम्म । हरेक मानिसले आफ्नो जन्मदेखि मृत्यु नहुन्जेलसम्मको अवस्थाको वास्तविक मूल्याङ्न गर्नुपर्ने निष्कर्ष यस निबन्धको रहेको छ । मानिसले आफ्नो क्षमताअनुसार नै आफ्नो मूल्याङ्कन गर्ने हुन्छ तर मानिसले आफ्नो मूल्याङ्कन निष्पक्ष भएर गर्नुपर्ने हुन्छ अन्यथा आफ्नै बारेमा आफूले नै गरेको मूल्याङ्कन सही नहुन सक्छ ।

चेतनाको उपहार – नियात्रा निबन्ध हो । निबन्धकारलाई विराटनगरमा सम्मान गर्नको लागि बोलाइँदाको फोनदेखि सम्मान कार्यक्रममा आफूलाई सम्मान गरिसकेपछि हिँड्दासम्मको अवस्थालाई रोचक किसिमले बयान गरेका छन् । सम्मानको खबर पाएपछि मनमा उब्जेका भावहरूलाई पनि समेटिएको छ । साँच्चै साहित्यमा लागेपछि चेतनाको कारोबार हुने रहेछ भन्ने कुरो यसबाट बुझ्न केही सजिलो हुन्छ ।
मकवानपुरको सेरोफेरोमा लेखिएको निबन्ध हो – आफ्नै अनुभूतिको सेरोफेरो । वास्तवमा यो मकवानपुरको महक हो । मकवानपुरको सुन्दर सुगन्ध यसमा सुँघ्न पाइन्छ । माटोको स्तुति हो यो र जहाँको हावामा साँस लिइएको हो, त्यसप्रति तिरिएको ऋण हो । समर्पण हो यो निबन्ध ।

चिया पिउँदा मानिसहरू बढी स्वतन्त्र हुन्छन् । त्यहाँ अनेक किसिमका गफहरू चुटिन्छन् । कति त हावादारी हुन्छन् र कति चाहिँ निकै गम्भीर हुन्छन् । गम्भीर प्रकृतिका गफहरूले आफूलाई प्रभावित पार्दछन् । सकारात्मक गफ गर्ने थलो पनि हुन सक्छ चिया खाने ठाउँ । यस्तै गफको सकारात्मक गुजुल्टो हो – चिया चर्चा । एउटा शुभभाव निबन्धकारले उनेका छन् अन्तमा ।

अलिक फरक किसिमको निबन्ध हो – पानीको भोज । पानीको महत्व र आवश्यकताको व्यावहारिक तथा प्रमाणिक र दार्शनिक अभिव्यक्ति दिइनुका साथै निबन्धकारको टोलमा रहेको पानीको समस्या समाधान हुनेप्रति विश्वास व्यक्त गरिएको छ ।

पर्खाइ – निबन्धमा दर्शन बढी छ । पर्खनुको पनि महत्व हुन्छ र पर्खेर पनि फाइदा हुन्छ । पर्खेर समेत केही काम गर्न सकिन्छ । पर्खिनु आफैँमा धैर्यता हो । यसका धेरै उदाहरणहरू यसमा दिइएका छन् । आत्मपरक शैलीमा कौतूहलपूर्ण प्रस्तुति रहेको निबन्ध हो – जेल परेको सूचना । एउटा मार्मिक निबन्ध हो – सहर सम्वाद । सहरमा प्रवेश गर्दा मनमा हुने उमङ्ग र भोग्नु परेको पीडालाई निबन्धकारले निजात्मक शैलीमा प्रस्तुत गरेका छन् । पछिल्लो करिब तिन दशकको मकवानपुरे साहित्यमा मुक्तिगोविन्द वैद्यको योगदान अविस्मरणीय छ । वैद्य साहित्यकार नभए पनि भाषा र साहित्यको सेवा गर्नेहरू निरन्तर जुन रूपमा प्रोत्साहन गरिरहेको छन्, त्यसको अनुकरण गरेर लामबद्ध हुने आज सयौँ पुगिसकेका छन् । वैद्यको बहुमुखी सहयोगी भावनाको सम्मान गरिएको निबन्ध हो – मुक्तिगोविन्दका मुक्तिगामी पाइलाहरू ।

सडकसँग हाम्रो सम्बन्ध – एउटा साधारण निबन्ध हो । यस निबन्धमा शीर्षकअनुसारको विषवस्तु रहेको छ तर यसमा प्रयोग गरिएको देशभक्ति भावले यस निबन्धको गरिमा बढाएको छ । शीर्षक पढ्दा हास्यव्यङ्ग्यजस्तो लाग्ने तर गम्भीर विषयवस्तु भएको निबन्ध हो – जिब्रो खेती । यसमा जिब्रोको सदुपयोग गर्नुपर्ने बताइएको छ भने जिब्रोले अरु बोले पनि नबोले पनि देश बोल्नुपर्ने अभिव्यक्ति छ ।

मेरो अनुहार – स्वगन्थन र हृदयको गहिराईबाट प्रस्फुटित निबन्ध हो भने साहित्यकार आरसि रिजालको साहित्यिक व्यक्तित्वलाई लिएर लेखिएको निबन्ध हो – आरसि रिजाल : एक शब्द चित्र । निबन्धकार खरेलले साहित्यकार रिजालको यथोचित सम्मान गरेका छन् तर रिजाल र मुक्तिगोविन्द वैद्यको बारेमा आएका शब्दहरूले उनीहरूको बारेमा जान्न चाहनेहरूको धित मर्दैन ।

निबन्धकार खरेलले आफ्नो मुटु निचोरेर लेखेका भावहरूको कलात्मक प्रस्तुति ‘जिन्दगीदेखि जिन्दगीसम्म’ एउटा विशिष्ट निबन्ध सङ्ग्रह हो । हेर्दा सानो आकारको देखिए पनि यसको मूल्य भने निकै विशाल रहेको छ । यसमा विभिन्न किसिमका निबन्धहरू रहेका छन् । संस्मरण, कल्पना र यात्राको त्रिवेणी हुँदाहुँदै पनि यसमा वस्तुपरकताको बाहुल्य हुन पुगेको छ । दुई व्यक्तित्वको बारेमा लेखिएका जीवनीपरक निबन्धले कताकतै समीक्षाको पनि अनुभूति गराउँछ । निबन्धकार तथा सम्पादक साहित्यकार रिजाललाई यस निबन्ध सङ्ग्रहले एउटा विशेष पहिचान दिने विश्वास लिन सकिन्छ । साहित्यकार रिजालको निरन्तर उन्नयनको कामना गर्दछु ।