रामबाण- १, एक विश्लेषण : त्यतिबेलाको साच्चिँकै रामबाण

सञ्जय साह मित्र
२०७८ कार्तिक १८,बिहीबार ११:५१

१. विषय प्रवेश
मकवानपुरे साहित्येतिहासमा अनेक प्रयोगहरू भएका छन् । कतिपय प्रयोगमा म पनि संलग्न छु । कोठेसाहित्य गोष्ठी, अखबारमा साहित्यिक स्तम्भ, बालसाहित्यिक पत्रिकाको प्रकाशन, व्यङ्ग्य पत्रिकाको प्रकाशन, अनुवाद रचना प्रकाशन आदि । यस्तै प्रयोगमध्ये सम्भवतः पहिलो व्यङ्ग्य पत्रिकाको रूपमा रामबाणको प्रकाशन पनि थियो । रामबाण व्यङ्ग्य साहित्यिक द्वैमासिक पत्रिकाको प्रकाशन आफैँमा एउटा महत्वपूर्ण उपलब्धि रहेको थियो ।
प्रारम्भमा जम्मा चार पृष्ठको प्रकाशित रामबाणका पछिल्ला अङ्कहरू आठ पृष्ठका थिए ।
२. प्रकाशनको तारतम्य
मकवानपुरमा व्यङ्ग्य साहित्य फस्टाउन लागेको थियो । कुराकानी साप्ताहिकमा निरन्तर हास्यव्यङ्ग्य साना रचनाहरू आइरहेका थिए । साहित्य गोष्ठीहरूमा पनि हास्यव्यङ्ग्यले धेरैको ध्यानाकर्षण गर्दथ्यो । यसै सन्दर्भमा मकवानपुरमा व्यङ्ग्य साहित्यमा रुचि लिने तत्कालीन नवयुवकहरूले एउटा साधारण पत्रिका निकाल्ने सोचाइ बन्यो । त्यसैको प्रतिफलस्वरूप प्रकाशन हुन पुग्यो – रामबाण द्वैमासिक व्यङ्ग्य पर्चा । सम्पादक भए पञ्चराम । पञ्चराम भन्नाले पाँच राम अर्थात् नाममा राम भएका पाँच राम । अध्यक्ष राजाराम बर्तौलाको नाममा पछाडिबाट राम छ । बाँकी चार जनाको नामको अगाडि राम छ, यथा : राम अविकास, रामकुमार एलन, रामशरण पुडासैनी र राम विश्वास साह ।
३. परिचय
रामबाण १ को प्रकाशन २०६० वैशाखमा भएको थियो । यसमा वर्ष – अङ्कलाई यसरी लेखिएको छ – धनु : १, बाण : १, वैशाख–जेष्ठ २०६०, प्रतिबाण रु. २।–, वार्षिक वाण रु. २०।– । पहिलो पृष्ठमा तल लेखिएको छ – रामबाण प्रकाशन हेटौँडाका लागि अध्यक्ष राजाराम बर्तौला, पत्राचार c/o पुष्पलाल स्मृति पुस्तकालय हेटौंडा, मकवानपुर, E–mail – [email protected] । सम्पादक :– पञ्चराम ।
पत्रिकाको टाउकोमा नै लेखिएको छ – रामवाणको सूचना । रामवाण द्वैमासिक व्यङ्ग्य पर्चाको लागि २०० शब्दसीमाभित्र रही आफ्ना उत्कृष्ट व्यङ्ग्य लघु लेखरचना उपलब्ध गराएर सहयोग गर्नुहोला । प्रकाशित लेखरचनावापत उचित पारिश्रमिकको व्यवस्था गरिएको छ । एक वर्षभित्र प्रकाशित रचनामध्ये उत्कृष्ट एकलाई रामबाण व्यङ्ग्य सम्मान  समर्पण गरिने जानकारी गराइन्छ । – रामबाण प्रकाशन, हेटौंडा । पत्रिकाको प्रथम पृष्ठमा सम्पादकीय शब्दको सट्टा रामलीला  शब्दको प्रयोग गरिएको छ ।
पत्रिकामा आर्सी रिजाल, सञ्जय साह, हनुमान थापा निर्बल, लक्ष्मण सुवेदी, रामशरण पुडासैनी, राजाराम बर्तौला, सरोज कोइराला, मिस्टर अड्मिल्दो मकवानपुरे र सुमन झापालीका रचनाहरू प्रकाशित छन् । मिस्टर अड्मिल्दो मकवानपुरे उपनाम धारी चाहिँ राम अविकास  हुन् ।
४. विषयवस्तु
बोहनी  शीर्षकमा आर्सी रिजालको कविताले पत्रिकाको बोहनी भएको छ । नयाँ वर्षप्रति व्यङ्ग्य गर्दै गत वर्षको जस्तै यस वर्ष पनि पुरानो बैसाखी टेकेर नयाँ वर्ष आएको कवितामा बताइएको छ । नयाँ वर्षको दिनको समयमा खासै नयाँपन नहुने यसको मूल विषयवस्तु हो । डाँका टोपी  शीर्षकमा सञ्जय साहको लघुव्यङ्ग्य निबन्ध प्रकाशित
छ । सबै संस्थाका सदस्यको पहिचानमूलक पहिरन हुने अवस्थामा राति वा दिउँसै लुट्ने डाँकाहरूको पहिचान बताउने पहिरनको रूपमा टाउकोमा नै डाँका टोपी लगाउनेले मात्र लुट्न पाउनु पर्ने यसको मूल विषयवस्तु हो । मुक्तक  शीर्षकमा हनुमान थापा निर्बलको रचना प्रकाशित छ । संसद् विघटन भइसकेपछि एक जना मन्त्रीले भ्रष्टाचार गर्न नपाएको छटपटी यसमा अभिव्यक्त छ । साँसद्को विकृत दृष्टिकोण यसको मूल विषयवस्तु हो । केही नलाग्ने भो  शीर्षकमा लक्ष्मण सुवेदीको कविता प्रकाशित छ । राजनैतिक र प्रशासनिक क्षेत्रका विकृतिहरूलाई यसमा चिरफार गरिएको छ । मुख्यतः केही नेताले भ्रष्टाचार गर्न नपाएको छटपटीलाई यसमा विषयवस्तु बनाइएको छ । तत्कालीन राजनीतिक परिवेशको यसले स्मरण गराउँछ ।पुरस्कार/पुरुषकार  शीर्षकमा रामशरण पुडासैनीको रचना प्रकाशित छ । यस अङ्कको सबैभन्दा लामो रचना यही हो । यो पूरा एक पृष्ठको छ । यस रचनामा साहित्य क्षेत्रका विकृतिमाथि औला ठड्याइएको छ । कृति प्रकाशन र पुरस्कार वितरणको क्षेत्रको विकृतिमाथि चोटिलो प्रहार गरिएको छ । साहित्यिक पुरस्कारको निर्णय गर्दा अपनाइने विधिको चिरफार यसको मूल विषयवस्तु हो । गर्ने के  शीर्षकमा राजाराम बर्तौलाको रचना अन्तिम पातामा छ । एउटा सामान्य विपन्न युवकले कतै केही गर्न नपाएको गुनासो यसमा छ । जुन काम गर्न खोजे पनि वा जसकहाँ काम माग्न गए पनि पहिलेदेखि नै त्यो काम गर्नेहरू पर्याप्त भएकोले के गर्ने भन्ने सुझाव म पात्रले मागेको विषयवस्तु यसको छ । कलम  शीर्षकमा सरोज कोइरालाको रचना प्रकाशित छ । कलमको शक्तिलाई यसमा विषयवस्तु बनाइएको छ । कलममा धेरै शक्ति रहेको र यसको सिर्जनात्मक उपयोग हुनुपर्ने यसमा बताइएको छ । ससुरालाई घाटा  शीर्षकको रचना रहेको छ मिस्टर अड्मिल्दो मकवानपुरेको । बिहेको निम्तो मान्न जाँदा सबैलाई दामदार सामान दिनेकी छोरीले आफूखुसी बिहे गरेपछि अरुले आफ्नो घरमा केही दिन नपाउँदा घाटा लागेको गुनासो ससुराले ज्वाईँसित गरेको गुनासो यसको मुख्य विषयवस्तु हो ।
भाले हराएको सूचना  शीर्षकमा सुमन झापालीको रचना प्रकाशित छ । यसका तत्कालीन राजनैतिक परिवेशलाई विषयवस्तु बनाइएको छ । नेताहरू सत्तामा बसिरहन र अरूलाई सत्ताबाट पछार्न गरिने कृत्यलाई यसमा विषयवस्तु बनाइएको छ । पत्रिकामा प्रकाशित रचनहरू यीनै हुन् । प्रकाशक/सम्पादकको तर्फबाट जे छ रामलीला छ । रामबाण व्यङ्ग्य पत्रिका लाई निरन्तरता दिइने कुरा यसको मूल कथ्य हो भने स्तरीय रचनाको अपेक्षा पनि यसमा गरिएको छ । मकवानपुरबाट व्यङ्ग्य पत्रिकाको सुरुआत गरेर व्यङ्ग्य साहित्यमा अलिकति भए पनि योगदान दिने विश्वास यसमा अभिव्यक्त छ ।
५. व्यङ्ग्यात्मकता
व्यङ्ग्य पर्चा भनेर प्रकाशन गरिएको रामबाण द्वैमासिकको आफ्नो सूचनाबाहेक बाँकी सबैमा व्यङ्ग्यत्मकता पाइन्छ । सम्पादकीय वा प्रकाशकीयलाई रामलीला भनेर यहीबाट व्यङ्ग्यात्मकता भएको छनक दिइएको छ । रामलीला को भाषा पनि सोझो छैन । यस अङ्कमा प्रकाशित अन्य रचनाहरूमा पनि व्यङ्ग्यात्मकता र हास्य पर्याप्त पाइन्छ । आफ्नो कुरोलाई जसरी पनि घुमाएर भन्न मिल्ने विधा नै व्यङ्ग्य भएकोले अधिकांश रचनामा यसको पर्याप्तता छ । कुनै कुनैमा हास्यको भावले व्यङ्ग्यलाई थिच्न पुगेको पनि देखिन्छ । तत्कालको समयलाई समेटेर लेखिएका रचनाहरूमध्ये कतिपयले वर्तमानलाई पनि व्यङ्ग्य गरेको देखिन्छ । यसलाई सिर्जनाको सफलता मान्न सकिन्छ । सर्जकको नाममा पनि व्यञ्जना छ । मिस्टर अडमिल्दो मकवानपुरे  यसको उदाहरण हो । हास्यव्यङ्ग्यका सुपरिचित हस्ताक्षर आरसी रिजालको नाम आर्सी रिजाल लेखिएको छ । यसरी यस पत्रिकाले हास्यधर्म र व्यङ्ग्यकर्मलाई निर्वाह गरेको देखिन्छ । हरेक रचनाको छुट्टाछुट्टै विश्लेषण गर्ने हो भने रमरम व्यङ्ग्यदेखि शाब्दिक परिहाससम्म पाउन सकिन्छ ।
६. समापन
मकवानपुरे व्यङ्ग्य साहित्यको इतिहासमा रामबाण  पहिलो साहित्यिक पत्रिका वा पर्चाको रूपमा रहेको थियो । धेरै पत्रिकाको प्रकाशन हुने र केही अङ्कपश्चात बन्द हुने नियति यसले पनि भोगेको छ । यो एउटा राम्रो सुरुआत थियो । राम्रो सुरुआतमात्र नभएर राम्रो चर्चा र समर्थन पनि प्राप्त गरेको थियो पत्रिकाले । यद्यपि पञ्चराम पत्रिका प्रकाशनमा पञ्चरराम  देखिए । रामबाण ले रामबाणकै काम गरेको थियो तर धेरै धनु र तीर निकालिइरहन सकेन । यद्यपि यसको प्रभाव भने अद्यापि रहेको
छ ।