भानुभक्त आचार्यको सामाजिक प्रभाव

आज आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती
सञ्जय साह मित्र
२०७८ असार २९,मंगलवार ०८:१३

नेपाली भाषा र साहित्यमा आदिकविको उपाधिले विभूषित भानुभक्त आचार्यको लोकप्रियता नेपाली भाषासँगसँगै विस्तार भइरहेको छ । उनले लेखेको रामायण नेपाली भाषाको प्राथमिक कालको सबैभन्दा मुख्य ग्रन्थ हो । उनले अन्य कृतिहरु पनि लेखेका छन् तर उनलाई अमर बनाउने काम भने रामायणले नै गरेको हो ।

रामायणलाई उनले एकैपटकमा लेखेका होइनन् । पहिले बालकाण्ड लेखे र त्यसपछि रामायणको बाँकी भाग तयार पारे । के पनि भनिन्छ भने रामायणको उत्तर काण्डले उनले निकै पछि मात्र लेखेका हुन् ।
भानुभक्त आचार्यलाई मोतीराम भट्टले आदिकविको संज्ञा वा उपाधि दिएका हुन् । मोतीराम भट्टले दिएको उपाधिलाई नेपाली नागरिक, साहित्यकार तथा राज्यले निरन्तरता दिएका हुन् । आचार्यभन्दा पहिले नेपाली भाषामा साहित्य सिर्जना गर्ने कोही थिएनन् भन्ने होइन, साहित्यिक स्तरीयता तथा योगदान र अन्य गुणले गर्दा नेपाली साहित्यका आदिकवि भनेर भट्टले उपाधि प्रदान गरेका हुन् । अहिलेसम्मको अवस्थामा नेपाली साहित्यमा आदिकविको उपाधि भानुभक्त आचार्यलाई दिइनु सर्वथा उचित थियो भन्ने देखाइरहेको छ ।

भानुभक्त आचार्य गाउँमा जन्मेका थिए । उनको जन्म तनहु जिल्लाको चुँदीरम्घा भन्ने गाउँमा विक्रम सम्वत् १८७१ असार २९ मा भएको थियो । भानुभक्तका पिताको नाम धनञ्जय आचार्य र माताको नाम धर्मावतीदेवी थियो । उनी बाजेबाट बढी प्रभावित थिए । उनको बाजेको नाम श्रीकृण आचार्य थियो । बाजे श्रीकृष्ण आचार्य समाजमा अत्यन्त प्रतिष्ठित व्यक्ति थिए । उनको पहुँच पहिलेदेखि नै राज्यको माथिल्लो निकायसम्म रहेको बुझिन्छ ।

यहाँ स्पष्ट पार्न चाहेको भानुभक्तको सामाजिक प्रभावको विषयमा हो । यसका दुई पक्ष हुन सक्छन् । पहिलो, भानुभक्तको समयको समाज कस्तो थियो ? र दोस्रो, भानुभक्तको रचनाको सामाजिक प्रभाव कस्तो रहेको छ ?

भानुभक्त आचार्यको जन्म भएको समयमा समाजमा अन्धविश्वास व्याप्त थियो । उनी तत्कालीन अवस्थामा हुनेखाने परिवारका सदस्य थिए । बाजेको निकै ठूलो नाम र मान थियो समाजमा । बाजे राजकर्मचारी थिए । उनी पण्डित पनि थिए । त्यो जमानामा राजकर्मचारी हुनु भनेको राज्यको नजरमा लायक मानिस हुनु हो । यसरी समाजमा बाजेको जुन सम्मान थियो, प्रतिष्ठा थियो र जुन हैसियत थियो, त्यसको प्रभाव पनि भानुमा परेको हो । यसै गरी बाजेको रहनसहन, दैनिकी तथा अध्ययन र पठनको प्रभाव पनि परेको हो । अझ जब बाजे बूढो भएर बिरामी पर्न थालेपछि त्यत्तिबेलाको चलनअनुसार मुक्ति वा मोक्ष प्राप्तिको लागि काशी लैजानु पर्दा भानु पनि सँगै गएका थिए । काशीको राजकर्णिकाघाटमा बाजेलाई राखेको र त्यहाँको सामाजिक तथा शैक्षिक र धार्मिक अनि आध्यात्मिक जीवनको प्रभाव पनि भानुमाथि परेको हो । झन्डै उत्तर भारत र नेपालको शिक्षाको केन्द्र काशीमा रहेर बाजेको जीवनको अन्तिम क्षणमा त्यहाँका पण्डितहरुबाट दिइएको उपदेश तथा त्यहाँको रहनसहनबाट जीवनको उद्देश्यको बारेमा पनि स्पष्ट भई उनको व्यक्तित्वमाथि हस्तक्षेपकारी प्रभाव पारेको देखिन्छ । यी सबैको केन्द्रविन्दूमा जब एक जना निर्धन घाँसीको सपना हुन्छ कि आफूले आफ्नो जीवनमा एउटा कुँवा खन्न लगाएर आफ्नो जीवनलाई सार्थक बनाउँछु र यो कुरो भानुले थाहा पाउँछन् तब उनको अभ्यन्तरको चक्षु खुल्दछ । उनी आफ्नो जीवनमा रामायणजस्तो कृतिको सिर्जन वा नेपालीमा अनुवाद गर्ने परम उद्देश्य लिन्छन् र यसै कृतिको पूर्णतामा नै आफ्नो मोक्ष वा मुक्ति देख्दछन् । यदि यस कथनको आध्यात्मिक पक्षलाई एक छिन नजरअन्दाज गरेर हेर्ने हो भने पनि यस कृतिको कारणले भानुले अमरत्व प्राप्त गरेका छन् । यसको अन्तर्यमा यो पनि रहेको देखिन्छ कि तत्युगीन मोक्ष वा मुक्ति भानुले सहज प्राप्त गरेका छन् र त उनी देवताजस्तै नेपाली भाषाको संसारमा संस्कार बनी पुजित छन् ।

 

सम्भवतः यसै कारण भानुभक्ताचार्यको सालिक नेपाली मातृभाषी जहाँसम्म रहेका छन्, त्यहाँसम्म पुगेको छ वा स्थापना गरिएका छन् । कतिपयले के पनि भनेका छन् भने नेपाली समुदायले आफू नेपाली समुदायको हूँ भनेर देखाउनका लागि भानुभक्त आचार्यका सालिक आफ्नो ठाउँमा राखेका छन् र भानुको सालिकसँगै उनको रामायणको पनि चित्र बनाएका छन् । भानुको सालिक र रामायणको आकृतिबाट आफूहरु नेपाली भएको प्रमाण दिएको देखिन्छ अर्थात् यसको अन्तर्यमा यो पनि रहेको छ कि भानुको सालिक र रामायण नेपाली समाज हुनुको अघोषित तर सम्मानित मोहर बनेका छन् ।

 

अहिले पनि भानुभक्ताचार्यको रामायणका कतिपय श्लोकलाई गैरधार्मिक कार्यमा सिलोकको रुपमा गाउने चलन रहेको छ । कतिपयले के दाबी गरेका छन् भने रामायणका कतिपय श्लोक लोकगीतजस्तै विभिन्न अवसरमा गाइने गरिएको छ । हुन त रामायणको प्रकाशन मोतीराम भट्टले गरेका हुन् तर यो कृति प्रकाशनपूर्व नै चर्चामा आइसकेको थियो र यसलाई हातले लेखेर लैजाने चलन चलिसकेको थियो । के दाबी गरिएको छ भने भानुभक्त रामायणको कम्तीमा बाह्र वटा हस्तलिखितप्रति पाइएको छ । यसको अर्थ यो पनि हो कि पढेलेखेका मानिस ज्यादै कम भएको उक्त जमानामा अत्यन्त धेरै श्रद्धा लागेर कतिपयले रामायणलाई सारेर लैजान्थे । यसरी सारेर लगिएको रामायणलाई लय र भाकामा पढेलेखेकाले समाजमा बसेर धार्मिक विधिअनुसार गाउने गर्दथे । पहिलेको जमानामा त धेरै कुरा कन्ठाग्र पार्ने चलन थियो र गाएर सुनाउँदा नै कतिपयलाई कण्ठस्थ भइहाल्थ्यो । यसरी कण्ठस्थ भइसकेपछि एकचोटि तथा दोस्रोचोटि मानिसले गाउँथे । घाँस काट्न जाँदा, दाउरा लिन जाँदा, गोठालो जाँदा, रोपाईँ र अन्य मेलापातमा एकल तथा सामूहिक गायन हुन थालेको पाइन्छ रामायणको त्यो जमानामा । यो चलन एक गाउँबाट अर्को गाउँमा सर्दै गएको पनि देखिन्छ र जब रामायणको प्रकाशन हुन गयो तब यस कृतिले पश्चिम नेपालदेखि पूर्वमा जहाँसम्म नेपालीहरु फैलिएका छन्, त्यहाँसम्म रामायणको कीर्तिसँगै भानुको कीर्तिप्रकाश फैलिएको देखिन्छ । उदाहरणको रुपमा दार्जिलिंग, असम, मणिपुर, मेघालय तथा वर्मासम्म यस कृतिको विस्तार भएको देखिन्छ । यस कृतिको विस्तार मात्र भएको छैन, कृतिसँगै भानुको जीवनीको पनि विस्तार भएको छ । नेपाली साहित्यको विस्तार भएको छ । र, नेपाली संस्कृतिको विस्तार भएको छ । सम्भवतः यसै कारण भानुभक्ताचार्यको सालिक नेपाली मातृभाषी जहाँसम्म रहेका छन्, त्यहाँसम्म पुगेको छ वा स्थापना गरिएका छन् । कतिपयले के पनि भनेका छन् भने नेपाली समुदायले आफू नेपाली समुदायको हूँ भनेर देखाउनका लागि भानुभक्त आचार्यका सालिक आफ्नो ठाउँमा राखेका छन् र भानुको सालिकसँगै उनको रामायणको पनि चित्र बनाएका छन् । भानुको सालिक र रामायणको आकृतिबाट आफूहरु नेपाली भएको प्रमाण दिएको देखिन्छ अर्थात् यसको अन्तर्यमा यो पनि रहेको छ कि भानुको सालिक र रामायण नेपाली समाज हुनुको अघोषित तर सम्मानित मोहर बनेका छन् । नेपाली समाज हुनुको पहिचान स्थापित गर्ने सालिक र घरमा यदि भानुभक्तीय रामायण छ भने यसलाई नेपाली भाषाको सामान्य कृतिको रुपमा मात्र नभई यस कृतिलाई भानुभक्तको एउटा कोसेली आफ्नो घरमा राखेको भनी गर्वको अनुभूति गर्ने तथा अझ कतिप

य परिवारमा यस कृतिलाई साक्षात आस्थाको केन्द्र राम अर्थात् मर्यादा पुरुषोत्तम रामको साक्षात् प्रतिनिधिको सम्मान प्राप्त छ । यी सबैले के स्पष्ट हुन्छ भने आदिकवि भानुभक्त आचार्यको सामाजिक प्रभाव अत्यन्त सशक्त रहेको छ ।
र, अझ एक कदम अगाडि बढेर यो पनि भन्न सकिन्छ कि भानुभक्त आचार्यले नेपाली संस्कृतिको एकताको पूर्वाधार तयार पारेका छन् । उनले नै तयार पारेको एकताको पूर्वाधारमा अहिले नेपाली भाषा र साहित्यमार्फत विश्वका विभिन्न देशमा रहेका नेपालीहरु अहिले सांस्कृतिक एकताको सूत्रमा आफूहरुलाई जोडिरहेका छन् । यसरी भानुभक्त आचार्यको जीवनी र योगदानको विभिन्न दृष्टिकोणले मूल्यांकन गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*