बागमती प्रदेशः सर्वदलीय बैठकमा जुट्यो सहमति, बजेट संसोधन गर्न सरकार तयार

तु खबर संवाददाता
२०७९ असार १३,सोमबार ११:४२

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यकासाथ आह्वान गरेको बैठकमा सहमति जुटेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत गरेको बजेट संसोधन गर्ने विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार दलहरुबीच प्रदेश सरकारले ल्याएको बजेट पुनः संसोधन गर्ने र प्रदेशका १३ वटै जिल्लामा समानुपातिक रुपमा बजेट बाँडफाँड गर्ने विषयमा सहमति जुटेको हो । यससँगै अब नेकपा एमालेले संसद्मा अवरोध नगर्ने भएको छ र प्रदेशसभाको बैठक आजै दिउँसो १ बजेको लागि बोलाइएको छ ।

एमालेले प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लाहरुलाई समान रुपमा सम्बोधन गर्न नसकिएको भन्दै बजेट संसोधनको मागसहित प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएको थियो । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संसोधन गरेपछि मात्रै संसद् सुचारु गर्न दिने अडान लिएको थियो ।