हेटौंडा अस्पतालले ड्यूटीको समयमा निजी क्लिनिकमा भेटिने चिकित्सकलाई निलम्बन गर्ने

मकवानपुर । हेटौंडा अस्पतालले आफ्नो चिकित्सकहरु ड्यूटीको समयमा निजी क्लिनिकमा भेटिए तत्काल निलम्बन गर्ने जनाएको छ । अस्पतालले तोकिएको समयमा निजी क्लिनिकमा भेटिए तत्काल निम्लबन गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईँले जानकारी दिए ।
‘सरकारी र व्यवस्थापन समितिको डाक्टर अस्पतालले तोकिएको समयमा निजी क्लिनिकमा भेटेको खण्डमा तत्काल हामी निलम्बन गर्नेछौं ।’, उनले भने, ‘डाक्टर भनेको २४ सैं घण्टा आफ्नो ड्युटीमा हुनुपर्छ । अस्पतालले तोकिएको समयमा निजी क्लिनिकमा उपचारका लागि जान हामीले रोक लगाएका छौं । यदी यस्तो घटना भए हामी डाक्टरलाई निलम्बन गर्न तयार छौं ।’
उनले अस्पतालले कोरोनाको उपचारबापत ३ करोड र बीमा कार्डबाट उपचार गरिएको रकम ६ करोड रुपैयाँ राज्यसँग लिन बाँकी रहेका कारण आर्थिक रुपमा समस्या परिरहेको बताए । साथै पत्रकार सम्मेलनमा पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘निःशुल्क औषधि हाम्रो कारण वितरण नभएको होइन । प्रदेश र संघीय सरकारले तोकिएको निःशुल्क औषधी थोरै पठाउँदा छिट्टै सकिएको हो ।’
यस्तै, अस्पतालको मेडिकल सुपरिटेण्डेन्ड रामचन्द्र सापकोटले भवन र दक्ष चिकित्सक अभावका कारण आफ्नो सेवालाई पूर्ण रुपमा संचालन गर्न कठिन भएको बताए । उनले भने, ‘हाम्रो अस्पताल ५० बेडको हो । थोरै दक्ष जनशक्तिमा हामीले धेरै काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामीसँग आवश्यक पूर्वाधार पनि छैन । जसको कारणले गर्दा भद्रगोल जस्तो देखिएको हो ।’