आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले सोमबार प्रदेश १, मधेस प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
