नक्कली नोटसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले धनगढीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २१ वर्षीय रामदास राना र १८ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरू मामा–भान्जा हुन् ।
प्रहरीका अनुसार, धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा रानाले बि युनिक नामक फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए । वडा–३ स्थित सडकमा किशोरले चलाएको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री घाइते भएका थिए । उक्त यात्रीको उपचार गरेको पैसा तिर्ने क्रममा एक थान नक्कली नोट फेला परेको हो ।
यस्तै, सोधपुछको क्रममा सो नोट रानाले छाप्ने गरेको बताएपछि रानालाई समेत नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । प्रहरीले उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसीका डब्बा, एक थान रंगीन प्रिन्टर, एक थान मनिटर, एक थान सिपियू, एक थान लेमिनेसन मेसिन, एक थान किबोर्ड बरामद गरेको जनाइएको छ ।
