नेप्से २९ अंकले घट्यो, १ अर्ब ४९ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजारमा गिरावट आएको छ । केही दिनयता लगातार घटिरहेको नेप्से बुधबार परिसूचक २९.८९ अंकले घटेर १९६६ को विन्दुमा पुगेको छ । यसअघि मंगलबार ३६.०७ अंकले घटेर इन्डेक्स १९९६ सयको विन्दुमा पुगेर रोकिएको थियो ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार नेप्सेमा सूचीकृत २३२ कम्पनीहरुको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक बीमा समूहको शेयरमूल्य घट्न पुगेको छ । जीवन बीमा समूहको १८९.५८ रुपैयाँले घटेको छ भने निर्जिबन बीमा समूहको १३४.२७ रुपैयाँले घट्न पुगेको छ । त्यस्तै, लघुवित्त सूचकको ६६.८ रुपैयाँ, हाइड्रोपावर समूहको ५४.१५ रुपैयाँ र विकास बैंक समूहको ५३.५८ रुपैयाँले घट्न पुगेको छ ।
