सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने ४ जना विद्यार्थी पक्राउ

काठमाडौं । काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा चार जना विद्यार्थीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौंको बानियाटार बस्ने जोसेन बानियाँ, रामेछापको मन्थली घर भई हाल काठमाडौंको डिल्लीबजार बस्ने विपिन खत्री, ओखलढुंगाको मानेभञ्ज्याङ–६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने प्रतिक खतिवडा र काठमाडौं टोखा–६ घर भएका सञ्जिव भण्डारी (अनमोल) रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । प्रहरीले घाइतेलाई उद्धार गरी मोडेल अस्पताल पुर्याएको र उनको उपचारपछि डिस्चार्ज भएको छ । धारिलो हतियार प्रहारबाट सुरक्षा गार्डको बायाँ कान मुनि चोट लागेको छ ।
घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत उनीहरुलाई पक्राउ गरी उक्त घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।