आजबाट खारेज भयो आइतबारको सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ असार १, बुधबार ०९:०१

काठमाडौं । सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले साताको दुई दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको हो ।

लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेज गरेको थियो । साताको दुई दिन दिइएको विदा खारेज भएसँगै कार्यालय समय पूर्ववत् कायमै रहने गृह मन्त्रालयले जनाएको छ । यसअघि सरकारले साताको शनिबार मात्रै सार्वजनिक विदा दिने गरेको थियो ।