कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा जनप्रतिनिधिलाई स्वागत तथा सम्मान
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा स्वागत गरेको छ ।
संसदीय दलका उप नेता कृष्णलाल भँडेलको अध्यक्षता एवं संसदीय दलका नेता तथा बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्द्रबहादुर बानियाँले निर्वाचित जनप्रतिनिधिलाई जनताको मर्म भावना अनुसार काम गर्न निर्देशन दिएका थिए ।
उनले सबैलाई समेट्न सके कांग्रेसको शिर उच्च हुने भन्दै कांग्रेस साँच्चै जनता प्रति इमानदार छ भन्ने प्रत्याभूति गराउने अवसर पुनः आएको बताए । उनले पार्टी र परिवारको शिर उँचो राख्ने गरी काम गर्न आग्रह गरे । यस्तै नेता बानियाँले राजनीति जिविकाका लागि नभई सेवाका लागी हो भन्ने प्रमाणित गरेर देखाउन निर्देशन दिए ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिका नगर प्रमुख चिरिबाबु महर्जन, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, निलकण्ठ नगरपालिका धादिङका नगरप्रमुख भीम ढुङ्गाना, दक्षिणकाली नगरपालिका काठमाडौंकी उपप्रमुख बसन्ति डङ्गोल तामाङ, कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटा, हेलम्बु गाउँपालिका सिन्धुपाल्चोककी उपाध्यक्ष अम्सरा लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत बागमती प्रदेशमा कांग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कूल १०८ जना निर्वाचित भएका छन् । जसमा नगरपालिका प्रमुखमा २४, उपप्रमुखमा १९ गरी ४३ जना निर्वाचित भएका छन् भने गाउँपालिकाको अध्यक्षमा ३४ जना र उपाध्यक्षमा ३१ जना गरी जम्मा ६५ जम्मा जनप्रतिनिधि निर्वाचित भएका छन् ।
