बागमती प्रदेशसभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार ०८:५१

मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएकोे प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको छ । कार्य व्यवस्था परामर्श समिति बैठकको कार्यसूची अनुसार, मंगलबारको प्रदेशसभामा केही प्रतिवेदन पेश हुनेछ भने आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ ।

बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिव खड्काले जानकारी दिए ।

त्यस्तै, बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७९/०८० पेश गर्ने कार्यसूची रहेका सचिव खड्काले बताए । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि भोलि अर्थात असार १ गते बजेट ल्याउदैछ ।