थप १९ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ जेष्ठ २९, आईतवार १७:४६
file-photo

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४५३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

हाल देशभर १०६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०५ जना होम आइसोलेसनमा रहेका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६०० पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार २०४ जना संक्रमणमुक्त भएका छन् ।