भीमफेदीबाट लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २९, आईतवार १४:५९

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित भीमफेदी गाउँपालिका वडा नम्वर ६ बाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँको देबघाट गाउँपालिका वडा नम्वर ४ बस्ने २१ वर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका वडा नम्वर ९ बस्ने २३ वर्षीय जंगबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले लागूऔषध नाईट्राभेट ५३८ ट्याबलेटसहित शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार, बिरगंजबाट काठमाडौं जाँदै गरेको ना १ ज ३५५३ नम्वरको यात्रुबाहक सुमोलाई रोकी चेकजाँच गर्दा सुमोमा सवार उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।