कांग्रेस मकवानपुरगढीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

तु खबर संवाददाता
२०७९ जेष्ठ २८, शनिबार १९:१४

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । पालिका सभापति राजवीर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिनसहित कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष एवम् वडा सदस्यहरुलाई टिका र खादा लगाई सम्मान गरिएको हो ।

कार्यक्रममा कांग्रेस सभापति राजवीर मोक्तानले मकवानपुरगढीमा कांग्रेस र गठबन्धनलाई जिताउन अहोरात्र खटिने सबैप्रति आभार व्यक्त गरे । उनले निर्वाचित जनप्रतिनिधिहरुलाई समग्र पालिकावासीको हितका काम गर्न निर्देशन दिए । ‘हामीले जितेका छौँ । ५ बर्षे कार्यकालमा जनताले स्थानीय सरकारको प्रत्याभूति गर्न सक्ने गरी काम गर्न म सबै जनप्रतिनिज्यूहरुलाई आग्रह गर्दछु । जनताको मन जितेर समग्र विकास निर्माणको काममा अग्रसर हुन म शुभकामना पनि दिन चाहान्छु ।’ मोक्तानले भने ।

कांग्रेस जिल्ला सदस्य राजकुमार गोलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरगढी निर्वाचन परिचालन कमिटीका संयोजक यतिराज सापकोटा, २ नम्वर संघीय सचिव बलराम घिमिरे, तरुण दलका पालिका अध्यक्ष सानुकान्छा थिङ, शिक्षक संघका पालिका अध्यक्ष प्रल्हाद घिमिरेलगायतले जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।