एमाले र माओवादी परित्याग गरी ६ जना कांग्रेस प्रवेश
मकवानपुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ का एमालेका वडा उपाध्यक्ष उमेश कुमार न्यौपाने, संगठित सदस्य अजित बैजु र माओवादी केन्द्रका संगठित सदस्य सुमन बर्देवासहित ६ जना कांग्रेस प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा दिपेन्द्र श्रेष्ठ, अर्जुन सुनार र रामकुमार श्रेष्ठ रहेका छन् । उनीहरुलाई कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महतलगायतले खादा लगाएर स्वागत गरेका हुन् ।
एमाले र माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गरेका उनीहरुले प्रजातान्त्रिक विचार नै अब्बल भएकोले आफुहरुले कम्युनिष्ट पार्टी परित्याग गरेको बताए । आफुहरु पार्टीमा पछि प्रवेश गरेको भएपनि क्षमता र योग्यताको आधारमा पार्टीले सबैलाई उचित जिम्मेवारी प्रदान गर्नेमा आफुहरु विश्वस्त रहेको उनीहरुको भनाई थियो ।
कांग्रेस १९ नम्वर वडा सभापति विष्णु स्याङ्तान, तरुण नेता राजेश भेटवाल, नेता रामकुमार थापालगायतको पहलमा उनीहरु कांग्रेस प्रवेश गरेका हु्न् । सो अवसरमा कांग्रेस मकवानपुरका उपाध्यक्ष आनन्द कठायत, सहसचिवद्वय इन्दिरा न्यौपाने, ताराचन्द्र बजगाई, संघीय सभापति दामोदर खनाललगायतको उपस्थिति रहेको थियो ।
