बागमती प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित

तु खबर संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १५:२१

मकवानपुर । बागतमी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि बिहीबार बसेको बैठकमा सत्तारुढ, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका ३१ नाम सांसद्हरुले आ–आफ्नो धारणा राखेका थिए ।

सांसद्हरुले धारणा राखेपछि प्रदेशसभाकी उपसभामुख राधिका तामाङले प्रदेशसभाको अर्को बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेकी हुन् । उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिने कार्यसूची रहेको छ । त्यसपश्चात सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको छ ।

बिहीबार बिहान ८ बजे आह्वान गरिएको बैठक केही समय ढिला गरी सुरु भएको थियो । बैठक सुरु भएलगतै एमालेको अवरोध पछि १० मिनेटका लागि स्थगित भएको थियो । बैठक स्थगित भएपछि सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

करिव २ घण्टाको सर्वदलीय छलफल पश्चात बागमती प्रदेशसभाको बैठक पुनः सुरु भएको थियो । उक्त विषयमा प्रदेशका मुख्यसचिवको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गर्ने सहमति पछि प्रदेशसभाको बैठक सुरु हुने भएको हो । एमाले सांसदहरुले कार्यविधि मिचेर अनुदान कार्यक्रम आफ्नालाई दिन कर्मचारीलाई दवाव दिएको र आफू अनुकुल काम नगरेको भन्दै केही कर्मचारीलाई सरुवा गरेकोमा आपत्ती जनाउँदै प्रदेशसभा बैठक स्थगित गरेका थिए ।