हेटौंडा १८ का कृषकले खेत जोत्दा अनुदान पाउने, स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरको सेवा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १८ का कृषकले खेतबारी जोत्दा अनुदान पाउने भएका छन् । नवनिर्वाचित वडाअध्यक्ष अनिलकुमार बानियाँले वडाबासी किसानलाई कृषि कर्ममा प्रोत्साहन गर्न बर्षको १ पटक खेतबारी जोत्दा लाग्ने कूल खर्चको १५ प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका हुन् । उनले दोस्रो पटक वडा अध्यक्ष निर्वाचित भएको पहिलो बैठकमा सो निर्णय गरेका हुन् ।
‘हामीले वडाबासी कृषकहरुलाई कृषि कर्ममा प्रोत्साहन गर्न यो निर्णय गरेका हौँ । प्रत्येक कृषकले बर्षमा १ पटक खेतबारी जोत्न लाग्ने कूल खर्चको १५ प्रतिशत रकम अनुदान पाउने गरी तयारी गरेका छौँ । एउटा कृषकले १ कट्ठा जमिन होस् वा १ विगाहा, एक पटक जोद्दा लाग्ने कूल खर्चको १५ प्रतिशत अनुदान प्राप्त गर्नुहुन्छ ।’ बानियाँले भने ।
उनले कार्यविधि बनाएर यो कार्यक्रम चाँडै प्रभावकारी रुपमा कार्यान्वयन गरिनेसमेत बताए । ‘कृषकले खेतबारी खनजोत गर्दा अनुदानको लागि बील पेश गर्नुहुन्छ । त्यसबाट वडामा कति हेक्टर जमिनमा खेतीपाती भइरहेको छ, र कुन–कुन बाली लगाइएको छ भन्ने कुराको तथ्याङ्क पनि निकाल्न सहज हुन्छ । वास्तविक कृषक छनौट गरी अन्य अनुदान कार्यक्रम कार्यान्वयनमा पनि सहजता हुन्छ ।’ उनले भने ।
त्यस्तै उनले वडाको सामुदायिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरसहितको सेवा सुचारु गर्ने निर्णय गरेका छन् । उनले आगामी आर्थिक वर्षको साउन महिनाको पहिलो हप्ताबाट स्थानीय हर्नामाडी स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरसहितको सेवा प्रवाह गर्ने गरी तयारी अगाडि बढाइसकिएको जानकारी दिए । स्वास्थ्य चौकीको भौतिक संरचनाको मर्मत र प्रयोगशालाको स्थापनामा पनि जोड दिइने उनले बताए ।
एमबीबीएस डाक्टरसहितको सेवा सुरु भएपछि स्थानीय स्वास्थ्य चौकीबाटै सहज रुपमा वडाका नागरिकहरुको स्वास्थ्य परिक्षण र उपचार हुने वडा अध्यक्ष बानियाँले बताए । त्यस्तै उनले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरुलाई पूर्णता दिइने बताए ।