अझै २ दिन वर्षाको संभावना

तु खबर संवाददाता
२०७९ जेष्ठ १४, शनिबार १६:०४
file-photo

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालका विभिन्न भूभागमा २ दिन वर्षा हुने जनाएको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने महाशाखाले जनाएको छ ।

आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

भारतको उत्तर प्रदेशमा भूभागमा पनि पानी परिरहेको छ । बङ्गालको खाडी तथा भारतको आकाशमा विकास भएको जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण वर्षा भएको जनाइएको छ । मनसुन पूर्वको समय भएकोले स्थानीय वायु पनि त्यसमा मिसिँदा भारी वर्षाको अवस्था सिर्जना भएको हो ।