आज बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बागमतीसहित केही प्रदेशको विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बिहान मौसम बुलेटिन जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।
महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जनाइएको छ ।