३ वर्षसम्म अर्थमन्त्री रहेका ढुङ्गेलले भनेः सरकारको प्राथमिकतामा परिवर्तन नै भएन

तु खबर संवाददाता
२०७९ जेष्ठ १४, शनिबार १२:४९

मकवानपुर । बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवम् ने्कपा एमालेका नेता कैलाशप्रसाद ढुङ्गेलले सरकार परिवर्तन भए पनि सरकारको प्राथमिकताको क्षेत्र परिवर्तन हुन नसकेको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सरकारले विगतको भन्दा पनि कमजोर योजनाहरु ल्याएको उनले बताए ।

उनले सरकारले जनताको योजना र पीडाहरुलाई सम्बोधन गर्न नसकेको बताए । वर्तमान सरकारले अघिल्ला सरकारले ल्याएको योजनाहरु कटौती गर्ने काम मात्र गरेको बताए । मृल्यवृद्धिका कारण जनताहरु दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न नसक्ने अवस्थामा पुगेको बेला सरकारले जनताको पिडालाई सम्बोधन गर्न नसकेको उनको भनाई छ ।

उनले किसानहरु मल नपाएर समस्यामा परेका बेलामा सरकारले त्यसतर्फ ध्यान दिन नसकेको बताए । नेता ढुङ्गेलले गठबन्धन नेतृत्वको सरकारले काम चलाउनको लागि मात्र बजेट ल्याउन लागिपरेको आरोपसमेत लगाए । उनले एमालेलाई हराउनका लागि नै वर्तमान सरकारले निर्वाचनको समिप्यतामा ऐन विपरित २ हजार ३०० योजनाहरु बाड्ने काम गरेको बताए । नेता ढुङ्गेलले वर्तमान सरकारले अघिल्लो सरकारले नै ल्याएको बजेटको सिद्धान्त र प्राथमिकताको विषयहरु ल्याएको बताए ।