बजेट खर्च गर्नेतर्फ सरकारको ध्यान गएन – रमेश पौड्याल
मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले सरकारले बजेटको प्राथमिकताको क्षेत्र खोज्नु भन्दा पनि बजेट खर्चतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
शनिबार जारी प्रदेशसभाकोे १० औँ अधिवेशनको तेस्रोे बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आथिर्क वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै पौड्यालले प्रदेश सरकारको बजेट खर्च गर्न नसकेका कारण योजनहरु प्राथिमिकतामा पर्न नसकेको बताए । उनले सरकारले बजेट खर्च गर्न नसक्नुको कारण खोज्नुपर्ने अवस्था आएकोले त्यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
सरकारले ११ महिनाको अवधिमा वार्षिक बजेटको आधा रकम मात्रै खर्च गर्ने गरेको र आर्थिक वर्षको अन्तिममा असर महिनामा मात्र आधा बजेट खर्च गर्नुपर्ने बध्यता रहेको उनले बताए ।
‘विगतमा हामीसँग एकल बहुमतको सरकार थियो । त्यसले पनि काम गर्न सकेन । अहिले गठबन्धनको सरकार छ । त्यसले पनि काम गर्न नसकेको प्रष्ट छ । यसलाई गम्भिर रुपमा हेर्नुपर्छ ।’ उनले भने, ‘हामीले मन्त्रालय विभाजन गर्दां पनि काम गर्न सकेनौ । यसबारेमा हामीले गम्भिर समिक्षा गर्नुपर्छ ।’
उनले विगतदेखि नै विभिन्न बहानामा बजेट खर्च गर्न नसकेको र हरेक वर्ष बजेट र त्यसका प्राथमिकता मात्र प्रस्तुत गरेको बताए ।
‘हामीले बजेट खर्च गर्न सकेनौँ । किन भन्दा कर्मचारी अभाव भन्यौँ । कर्मचारी अभावलाई कहिलेसम्म बहाना गर्ने । त्यस विषयमा पनि सोच्नुपर्ने देखिएको छ । बागमती सरकारले चालु आवमा पुँजीगत तर्फ २८ र चालु तर्फ ४१ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । आगामी १ महिनामा त्यसलाई जसोतसो ७० प्रतिशत बनाइन्छ । यो हाम्रो ठूलो समस्या हो ।’ उनले भने ।
