राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सव हेटौंडामा सम्पन्न

तु खबर संवाददाता
२०७९ जेष्ठ १३, शुक्रबार १६:३९

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । आयोगको बागमती प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रम आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीको अध्यक्षता एवम् बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सभामुख श्रेष्ठले आयोगको वार्षिकोत्सको शुभकामना दिँदै मानिसमा चेतना स्थिती सबल हुनुपर्ने बताए । उनले मानिसको भौतिक स्थितीमात्रै ठिक भएर नहुने बताउँदै चेतनास्थिती सवल हुनुपर्ने बताएका हुन् । उनले आयोग जनताप्रति उत्तरदायित्व हुन सकेमा परिवर्तन हुनेमा ढुक्क रहेको बताए ।

कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादर प्रजा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, हेटौंडा उपमहानगरका मेयर मीना कुमारी लामा, बागमती प्रदेश प्रहरी नायब महानिरिक्षक पुजा सिंह, उच्च अदालत बार एशोसिएसनका सचिव अरुण कुमार खतिवडा, गैसस मकवानपुरका अध्यक्ष डा. कृष्णप्रसाद धिताल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको आतिथ्यता रहेको थियो ।