शान्ति–सुरक्षा सुदृढ पार्न मानव अधिकार आयोगको आग्रह

तु खबर संवाददाता
२०८२ आश्विन २२, बुधबार १२:४०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई शान्ति–सुरक्षा बलियो बनाउन र सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। हाल मुलुकमा विकसित राजनीतिक परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको हो।

बुधबार जारी विज्ञप्तिमा आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासन र सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व भएको उल्लेख गरेको छ।

आयोगले जेन–जी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिहरूबाट शान्ति–सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावप्रति पनि चिन्ता व्यक्त गरेको छ। साथै, विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरूबाट अभिव्यक्त विचारहरूले मानव अधिकारको उपभोगमा अवरोध आउन सक्ने अवस्था देखिएकाले त्यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

‘हिंसात्मक गतिविधि, अरूप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण धुमिल हुने हुँदा यसबाट शान्ति–सुरक्षा र विधिको शासनमाथि प्रतिकूल असर पर्न जान्छ,’ आयोगले भनेको छ।

आयोगले सबै समूह र राजनीतिक दलहरूलाई मर्यादित र संयमित प्रदर्शन गर्न, अरू प्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न तथा सामाजिक सद्भाव कायम राख्दै स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत निकास प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।