स्थानीय तह निर्वाचन : अझै ४ पालिकाको मतपरिणाम आउन बाँकी
काठमाडौं । निर्वाचन आयोगले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अझै चार वडा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको जनाएको छ । आयोगका अनुसार, अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको हो ।
देशभरका ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम भने सार्वजनिक भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए । अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका र सुदूरपश्चिम प्रदेशमा बाजुराको बूढीगङ्गा नगरपालिका रहेका छन् ।
प्रवक्ता शर्माका अनुसार, काठमाडौं र तिलोत्तमामा पनि मतगणना अन्तिम चरणमै पुगेको छ । त्रियुगामा भने मतदानमै विवाद भएका कारण ढिलो गरी मतगणना सुरु भएकोले मतपरिणाम आउँन समय लागेको हो ।
यस्तै, सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको जनाइएको छ ।
