मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २९,बिहीबार १०:०२

सुर्खेत । मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले एमालेका वडा अध्यक्ष पदका उम्मेदवारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन बिसी रहेका छन् । उनलाई बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो । प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जनाइएको छ । उनलाई राति नै निर्वाचन कार्यालयको जिम्मा लगाइएको जनाइएको छ ।