संविधानको रक्षाका लागि गठबन्धन : डीना

तु खबर संवाददाता
२०७९ बैशाख २७, मंगलवार १६:०८

मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले संविधानको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताएकी छन् । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन मङ्गलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ र मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा र्याली पछि आयोजित सभालाई सम्बोधन गर्दै उपाध्यायले नेकपा एमालेबाट अबको विकास र परिवर्तन सम्भव नभएको बताइन् ।

उनले विगतमा विशेष अवस्थामा दलहरुबीच गठबन्धन हुने गरेको बताउँदै लोकतन्त्र र गणतन्त्र स्थापना दलहरुबीचको गठबन्धनकै कारण सम्भव भएको बताइन् । उनले भनिन्, ‘केपी ओलीबाट संविधानमाथि प्रहार भएपछि सर्वसत्तावाद प्रवृत्तिविरुद्ध स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन भएको हो ।’

मकवानपुरगढीमा आयोजित कार्यक्रममा कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउन र विकासका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ को सत्तागठबन्धनका निर्वाचन परिचालन समितिमा संयोजक शत्रुघन दुलालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्षका उम्मेदवार दोर्जे लामा स्याङ्तानले व्यवस्था र सरकार परिवर्तन भएपनि संस्कार परिवर्तन नहुँदा समाज परिवर्तन नभएको बताए ।