जिल्ला प्रशासन कार्यालय मकवानपुर : आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत यस कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएको हुँदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
प्रशासनबाट प्रवाह हुने नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघरसंस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्रलगायत सबै प्रकारको सेवा आजदेखि यही बैशाख ३० गतेसम्मका लागि स्थगित गरिने भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार, यस बाहेकका शान्ति सुरक्षा, विपद्, मुद्दा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रहनेछ ।
यस्तै, प्रशासनले आज राति १२ बजेदेखि लागू हुने गरी ३० गते राति १२ बजेसम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन पूर्णरूपमा बन्द गर्न, मतगणना हुने मतगणनास्थलको ५०० मिटरको आसपासको क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्मको लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन पूर्णरूपमा बन्द गर्न र मतदानको दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म अनुमति प्राप्त सवारीसाधन बाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधनहरू सञ्चालन नगर्न निर्देशन दिएको छ ।
साथै, यस सूचना विपरितका कार्य, प्रचलित कानून तथा निर्वाचन आचारसंहिता विपरितका कार्य एवम् निर्वाचन विरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
