मन्त्रिपरिषद्को निर्णय : संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ४ गते दिउँसो ४ बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वानका लागि सिफारिस गरेको हो ।
सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारले बजेट ल्याउनु अघि बजेटमाथि छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । आगामी जेठ ४ गते अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् । त्यसपछि प्रिबजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको जनाइएको छ ।
