भोजमा बोलाएर साथीको हत्या, एक जना पक्राउ
सप्तरी । साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रूपनी गाउँपालिका–१ रूपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले मियाँलाई पक्राउ गरी शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । मियाँलाई भारतबाट नेपाल प्रवेश गरेको विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते भोजमा बोलाएर हत्या गरेका थिए । शम्भुनाथ नगरपालिका–१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा हत्याको भोलिपल्ट फेला परेको थियो ।
शव फेला परेपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौती दिएका थिए । पक्रन प्रहरी सक्रिय भएपछि उनी फरार भई भारतको विहारमा लुकेर बस्दै आएका थिए ।
आरोपित मियाँ यसअघि विसं २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका–७ बाट एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका थिए ।
