स्थानीय तह निर्वाचन : २४ प्रतिशत मात्र युवा उम्मेदवार

तु खबर संवाददाता
२०७९ बैशाख २४, शनिबार ०८:५७

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचमा २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । निर्वाचनमा कुल उम्मेदवारमध्ये २४ प्रतिशन युवाले उम्मेवारी दिएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

आयोगका अनुसार, निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले मात्रै उम्मेदवारी दिएका हुन् । जसमा १८ हजार ७८० पुरुष र १६ हजार ४८७ महिला रहेका छन् । पुरुषको एकल प्रतिशत १२.९५ छ भने महिलाको एकल ११.३६ प्रतिशत हुन्छ ।

त्यस्तै, ३६ देखि ५० वर्ष उमेर समूहमा उम्मेदवारको संख्या सबैभन्दा बढी छ । सो उमेर समूहको पुरुषमा ३९ हजार ६६९ र महिला २७ हजार ४९३ जना उम्मेदवार छन् । दुबैलाई जोड्दा ६७ हजार १६२ हुन्छ । प्रतिशतमा यो ४६ हो ।

सोहीअनुसार ५१ देखि ६५ वर्ष उमेर समूहको उम्मेदवार संख्यामा २६ हजार ५१५ पुरुष र १० हजार ५३९ महिला गरी ३७ हजार ५४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, ६५ भन्दा माथि उमेर समूहका उम्मेदवारको संख्या ५ हजार ५२७ छ । जसमा ४ हजार ३५० पुरुष र १ हजार १७७ महिला उम्मेदवार छन् ।