स्थानीय चुनावका लागि मतपत्र छाप्ने काम सकियो
काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको छ । बिहीबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गरी मतपत्र छाप्ने काम सकिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले भोलि बैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानीको काम सकिने जानकराी दिए ।
स्थानीय तह चुनावका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको शर्माले बताए ।
मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले निर्देशन दिएको छ ।
