हेटौंडाका बानियाँसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले चोरी गरेको मोटरसाइकल र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भई हाल जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ डेरा गरी बस्ने २६ वर्षीय अख्तर खान र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० घर भई हेटौंडा–११ थानाभर्याङ बस्ने १९ वर्षीय आर्यान बानियाँ रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
बुधबार हेटौंडा–१० राप्ती रोडस्थित पार्किङ गरी राखेको बिजय गौतमको बागमती प्रदेश ०३–००५ प ३४६५ नं. को बुलेट मोटरसाइकल चोरी भएको भनि सूचनाको आधारमा खटिएको प्रहरीले उक्त मोटरसाइकलको खोजतलास गर्ने क्रममा खान र बानियाँले चोरी गरी लुकाईछिपाइ राखेको अवस्थामा फेला परेपछि निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यस्तै, प्रहरीले उनीहरुको साथबाट विभिन्न मितिमा चोरी गरेको ना ४१ प ५२०८ नम्वरको पल्सर माटरसाइकल र बागमती प्रदेश ०३–००३ प ७२५२ नं. को २२० सि.सि. को पल्सर मोटरसाइकलको नम्वर प्लेट परिवर्तन गरी बागमती प्रदेश ०३–००१ प ६८७२ नम्वरको बनाई लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको छ ।
साथै प्रहरीले उनीहरुको साथबाट लागूऔषध खेरौ हेरोईन ४०० मिलि ग्राम पनि बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
