६२ लाखको गहनासहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २०, मंगलवार १५:२६
सांकेतिक तस्बिर

नेपालगञ्ज । बाँकेमा ६२ लाख रुपैयाँ बराबरको अबैध सुनको गरगहनासहित प्रहरीले एक जना पक्राउ गरेको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नम्वर २ एल गाउँस्थित सुवेदी चोकबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुनसहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी राधापुरबाट प्रहरी नायव निरीक्षक रविन्द्र बमको कमाण्डमा गएको खटिएको प्रहरी टोलीले शंका लागेर सिंहलाई जाँच गर्ने क्रममा सुनका गहनासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित बिभिन्न प्रकारका सुनाका गहना बरामद गरेको छ ।

सिंहले बैशाख ४ मा भारतको बैंगलोरको एउटा सुन पसलबाट यी गहान चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।