हेटौंडा ४ मा पाँच दलीय गठबन्धनः को हुन् वडा अध्यक्ष पदका उम्मेदवार पौडेल ?

तु खबर संवाददाता
२०७९ बैशाख १८, आईतवार २०:२५

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनकोे चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरी उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन् । उनीहरु गाउँ/नगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । तु खबरले विभिन्न पदमा उम्मेदवारी दिएका फरक–फरक व्यक्तिहरुसँग उनीहरुको पृष्ठभूमि, सामाजिक योगदान, विकासका एजेण्डालगायतका विषयमा जान्ने प्रयास गर्दै आएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट हरिप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई सत्तारुढ गठबन्धनले वडा अध्यक्ष पदको उम्मदेवार बनाएको हो । पौडेल सोही वडाको कांग्रेस सभापति पनि हुन् ।

२०२२ साल माघ २२ गते लिलहरि र तुलसादेवी उपाध्यायको सन्तानको रुपमा सर्लाही जिल्लामा जन्मिएका हरिप्रसाद २०४७ सालदेखि कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन् । कांग्रेसको सुभेच्छुक संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघमा आवद्ध भई उनले राजनीतिक यात्राको प्रारम्भ गरेका हुन् ।

उनले विभिन्न जिल्लामा पुगेर वित्तीय क्षेत्रमा काम गरेका छन् । खोटाङ् छँदा संस्थाको सचिव, फेरी हेटौंडा आएपछि अध्यक्षको जिम्मेवारी सम्हाल्दै २०५९ सालमा वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको अध्यक्षको जिम्मेवारी सम्हाले । २०६४ सालमा नेपाली वित्तीय संस्था कर्मचारी संघ मकवानपुरको अध्यक्षको जिम्मेवारीमा रही पौडेलले कार्यकुशलता प्रदर्शन गरे । २०६७ मा कांग्रेस मकवानपुरको संगठन विभाग सदस्य, २०६८ मा क्षेत्रीय सदस्य हुँदै २०७० मा उनले व्यापार तथा उद्योग विभागको सदस्यको जिम्मेवारी सम्हाले ।

कांग्रेसको १३ औँ महाधिवेशनबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर –४ को सभापतिको जिम्मेवारीमा रहेर पौडेलले काम गरे । कार्यकालभरी कांग्रेसको संगठन विस्तारको काममा सक्रिय रहेका उनी पार्टीका नेता तथा कार्यकर्ताको सुखदुखमा सँधै सँगै भए । उनको हार्दिकता, सरलता र इमान्दारिताको कदर गर्दै ४ नम्वर वडाका कांग्रेसजनले पार्टीको १४ औँ महाधिवेशनमा उनलाई सर्वसम्मत रुपमा सभापति चुने ।

उनलाई पार्टीले २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बनाएको थियो । तर, झिनो मतले पराजित भए । ‘वडा अध्यक्ष भएर जनहितका थुप्रै काम गर्ने इच्छा थियो, झिनो मतका कारण पराजित हुनुपरेकोले ती इच्छाहरु अधुरै रह्यो । यसपटक अधुरा इच्छा पुरा गर्नेछु । मेरो नेतृत्वमा ४ नम्वर वडा समृद्ध हुनेछ । म वडा मात्रै नभई समृद्ध नगर निर्माणको लागि पनि आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउनेछु ।’ उनले भने ।

पौडेल हेटौंडाकै हातेमालो बचत तथा ऋण सहकारी संस्थाको वर्तमान अध्यक्षसमेत हुन् । उनको नेतृत्वमा सहकारी विकास र कार्यक्षेत्र विस्तारमा उल्लेख्य सुधार भएको शेयर सदस्यहरु बताउँछन् । उनले नेपाल रेडक्रश सोसाइटी हेटौंडा–४ को सल्लाहकार, भुवनेश्वर सेवा समिति पशुपति मन्दिरको सल्लाहकार भई हाल आफुलाई सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रिय तुल्याएका छन् । त्यस्तै वीपी विचार समाज मकवानपुरको सचिव, मानवसेवा आश्रमको आजीवन सदस्य, रामेछाप काभ्रेमैत्री समाजको सल्लाहकार, पौडेल वंशज सेवा समितिको केन्द्रीय प्रतिनिधिलगायत विभिन्न वित्तीय संस्थाको उनी हाल सल्लाहकार छन् ।

राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका पौडेल स्वर्गीय वीपीको विचार र सिद्धान्तबाट प्रेरित भई कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएको बताएँछन् । पारिवारिक पृष्ठभूमि पनि कांग्रेस नै भएकाले उनले पार्टीको विचार र सिद्धान्तलाई राम्रोसँग नियाल्ने मौका पाए । पौडेल विद्यार्थी जीवनमा नेवि संघमा आवद्ध भएर पनि कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, २०६२/०६३ को जनआन्दोलनमा.पनि उनी अग्रभाग थिए । पौडेलले सत्तारुढ गठबन्धनको मर्म र भावना अनुरुप नै वडामा पाँच दलीय गठबन्धनलाई सार्थकता दिन सफल भए । त्यसका लागि कांग्रेसका नेता प्रदिप कोइरालाको पनि अहम भूमिका रहेको उनी बताउँछन् । उनले ४ दशकभन्दा बढी कांग्रेसको राजनीतिमा सक्रिय रहेका अर्जुन देवकोटालाई आफ्नो टिममा सहभागी गराएका छन् । उनको समूहमा नेकपा माओवादी केन्द्रका इश्रीप्रसाद कोइराला (कुमार) खुल्ला सदस्य पदमा र अम्बिका जोशी देउला, दलिततर्फको सदस्य पदको उम्मेदवार छिन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट अर्जना कुमारी शेर्पा खुला सदस्य पदकी उम्मेदवार छिन् ।

उनी समृद्ध वडा निर्माण र वडावासीको हितका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । वडा अध्यक्ष पदमा रहुन्जेल सरकारले दिने तलब भत्ता आर्थिक विपन्नता भएका व्यत्तिहरुका लागि खर्च गर्ने उनको योजना छ ।