मनहरीमा शंकर न्यौपानेद्वारा उम्मेदवारी फिर्ता
मकवानपुर । नेपाली कांग्रेस (वीपी) पार्टीबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनेका शंकर न्यौपानेले आज उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसले टिकट वितरणमा विभेद गरेको भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
कांग्रेस जिल्ला अध्यक्ष बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंले मनहरी नै पुगेर उनको उम्मेदवारी फिर्ताका लागि पहल गरेका थिए । उनले पार्टीले टिकट वितरणलाई व्यवस्थित नबनाएकोप्रति दुःख व्यक्त गरेका थिए । न्यौपाने अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा उम्मेदवार थिए । उनी थोरै मतान्तरले पराजित भएका थिए ।
उनीसँगै नेपाली कांग्रेस (वीपी) समूहबाट उपमेयर बनेकी जानुकी लामाले भने उम्मेदवारी फिर्ता लिइनन् ।
