बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख १५, बिहीबार १७:५७

काठमाडौं । प्रहरीले ललितपुरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बारबर्दिया नगरपालिका–१ जमुनिया घर भई काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर बस्दै आएका ३४ दिनेशभक्त वली रहेको प्रहरीले जनाएको छ । उनलाई बिहीबार ग्वार्कोबाट पक्राउ गरेको हो ।

गत फागुन १६ र १७ गतेको उच्च अदालत पाटनले बैंकिङ कसूरका मुद्दामा १२ दिन कैद र २४ लाख ६५ हजार ४३४ रुपैयाँ जरिवाना फैसला तोकेको थियो । उक्त फैसलापछि वली फरार थिए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ।