स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी परिचालन, कुन प्रदेशमा कति ? (सूचीसहित)

तु खबर संवाददाता
२०७९ बैशाख १४, बुधबार ०८:३४
file-photo

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । निर्वाचनका लागि काठमाडौं उपत्यकासहित ७ प्रदेश ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरीलाई परिचालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९९३ जना छनोट गरेर तालिम दिइएको हो । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ ।

मतदानस्थलको संवेदनशीलताका आधारमा ७ प्रदेश र उपत्यकामा फरक–फरक संख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ । जसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा म्यादी प्रहरी परिचालन गरिएको छ । त्यहाँ २१ हजार म्यादी परिचालन गरिएको छ ।

यसैगरी, काठमाडौं उपत्यकामा ४ हजार ७ सय ११ जना, प्रदेश नम्वर १ मा १७ हजार ७ सय २१, बागमती प्रदेशमा १३ हजार १ सय ८६ जना, गण्डकी प्रदेशमा १० हजार ९ सय ३३ जना, लुम्बिनी प्रदेशमा १५ हजार ८ सय २८ जना, कर्णाली प्रदेमा ७ हजार ७ सय ५३ र सुदुरपश्चिम प्रदेशमा १० हजार १ सय ६१ जना म्यादी प्रहरी परिसचान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।