गठबन्धनबाट हेटौंडाको उपमेयरको टिकट राजेश बानियाँलाई
मकवानपुर । सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदको टिकट नेपाली कांग्रेसका राजेश बानियाँले पाएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले हेटौंडाको उपमेयरको टिकट बानियाँलाई दिने निर्णय गरेको हो ।
बानियाँ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का बहालवाला अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी कांग्रेस क्षेत्रीय सभापति समेत हुन् ।
यस्तै, बैठकले थाहानगरपालिकाको उपमेयर पदमा भरत गोपालीलाई टिकट दिने निर्णय गरेको छ । यससँगै कांग्रेसले मकवानपुरको १० वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले यसअघि जिल्लाको ५ पालिका प्रमुख र ३ उपप्रमुखको उम्मेदवारबारी टुंगो लगाएको थियो । सत्ता गठबन्धनको निर्णय अनुसार, कांग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो ।
कांग्रेसले बकैया गाउँपालिकाको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुरगढीको अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाशको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङको अध्यक्षमा राजकुमार मल्ल, मनहरीको अध्यक्षमा रञ्जन कालाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यसैगरी, बागमती गाउँपालिकाको उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ र इन्द्रशरोबर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
