हेटौंडाको मेयरमा पौडेललाई उम्मेदवार बनाउने एमालेको निर्णय
मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अनन्त पौडेललाई उम्मेदवार बनाउने भएको छ । आसन्न निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउन बसेको एमालेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
पौडेल संविधानसभा सदस्यसमेत हुन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पौडेल मकवानपुरको निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित भएका थिए । त्यसयता संसदीय राजनीतिमा अवसर नपाएका पौडेल पार्टीको आन्तरिक गतिविधिमा सक्रिय रहेका थिए ।
आसन्न निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयरमा दावी गर्दै आएका उनलाई गत चैत अन्तिम साता बसेको एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको बैठकले मेयर पदमा सिफारिस गरेको थियो । उनीसँगै हेटौंडाको मेयरमा बहालवाला मेयर हरिबहादुर महत र गणेशकुमारी श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
त्यस्तै एमाले हेटौंडाको उपमेयर पदमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अखिल नेपाल महिलासंघ मकवानपुरकी अध्यक्षसमेत रहेकी काफ्ले बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको रोजाइकी उम्मेदवार हुन् ।
